Advertisement
जापान

जापानको चिबामा भीषण वर्षाले वितण्डा, सडक डुबानदेखि पहिरोसम्म

साझालेख साझालेख 2026-08-13 3 min Read
जापानको चिबामा भीषण वर्षाले वितण्डा, सडक डुबानदेखि पहिरोसम्म

जापानको चिबा प्रिफेक्चरमा बिहीबार परेको रेकर्ड भारी वर्षाले विभिन्न क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ। चिबाका धेरै क्षेत्रमा सडक डुबान, घरमा पानी पस्ने, सवारीसाधन फस्ने तथा पहिरो जाने घटना भएका छन्।

इचिकावा सहरको फुतामाता क्षेत्रमा पानीले डुबेको सडकमा एक पुरुष भेटिएपछि उद्धार गरी अस्पताल लगिएको छ। दमकलका अनुसार अस्पताल पुर्‍याउँदा उनी अचेत अवस्थामा थिए।

इचिकावाकै शिमोकाइदु क्षेत्रमा पहिरो गएको सूचना आएको छ। केही घरमा भुइँतलासम्म पानी पसेको तथा ढल उल्टिएर पानी बाहिर आएको जानकारी पनि प्राप्त भएको छ। ओनिताका क्षेत्रमा सडक डुबानका कारण कम्तीमा दुई बस र एउटा कार फसेका छन्।

अबिको सहरमा पनि विभिन्न स्थानमा सडक तथा घर डुबानमा परेका छन्। नेदो क्षेत्रमा पहिरो गएको र डुबानमा परेको कारभित्र मानिस फसेको सूचनापछि उद्धार टोली परिचालन गरिएको छ।

चिबा सहरको वाकाबा क्षेत्रमा करिब १० वटा कार पानीमा फसेको जानकारी आएको छ। कामागाया सहरमा घरको पहिलो तलासम्म पानी पसेको र सवारीसाधन डुबेको जानकारी आएको छ।

यसैगरी, शिरोई सहरमा पानी भवनभित्र पसेपछि एक वृद्धाश्रमका सेवाग्राहीलाई सुरक्षित स्थानमा सार्ने तयारी गरिएको छ। फुनाबाशी, साकुरा, नारासिनो, योत्सुकाइदो र इन्साइलगायत क्षेत्रमा पनि सडक तथा घर डुबान र पहिरोका सूचना आएका छन्।

चिबामा लेभल–५ भारी वर्षा विशेष चेतावनी जारी रहेकाले स्थानीय बासिन्दालाई नदी, डुबान क्षेत्र र पहिरोको जोखिम भएका स्थानबाट टाढा रहन तथा स्थानीय प्रशासनको सुरक्षा सूचनालाई तुरुन्त पालना गर्न आग्रह गरिएको छ।
 

सम्बन्धित खबर