Advertisement
जापान

जापानको फुकुओकामा २५ वर्षीया नेपाली छात्राको हत्या, नदीमा भेटियो शव!

साझालेख साझालेख 2026-08-20 3 min Read
जापानको फुकुओकामा २५ वर्षीया नेपाली छात्राको हत्या, नदीमा भेटियो शव!
जापानको फुकुओका सहरमा २५ वर्षीया नेपाली विद्यार्थी मृत अवस्थामा फेला परेकी छन्। प्रहरीले घटनालाई हत्या भएको आशंकामा अनुसन्धान सुरु गरेको छ।
 
प्रहरीका अनुसार अगस्ट १९ को बिहान फुकुओका सहरको मध्य भाग हुँदै बग्ने नदीमा एक महिलाको शव फेला परेको थियो। शव नदी किनारबाट केही मिटर टाढा पानीमा भेटिएको थियो। अनुसन्धानपछि मृतक नेपालकी २५ वर्षीया विद्यार्थी राजवंशी लक्ष्मी रहेको पुष्टि भएको हो।
 
प्रहरीका अनुसार उनको टाउको र अनुहारलगायत शरीरका विभिन्न भागमा चोटका धेरै निशान भेटिएका छन्। कुनै कडा वस्तुले प्रहार गरिएको हुन सक्ने आशंका गरिएको छ। पोस्टमार्टमबाट मृत्युको निश्चित कारण भने अझै स्पष्ट भएको छैन।
 
लक्ष्मी फुकुओका सहरको चुओ क्षेत्रमा बस्दै आएकी थिइन्। उनको कोठामा रगतका दाग समेत भेटिएको प्रहरीले जनाएको छ। उनको घरदेखि शव भेटिएको स्थान करिब दुई किलोमिटर तलतिर पर्छ।
 
घटनासँग प्रत्यक्ष सम्बन्ध पुष्टि नभए पनि सोही भवनका एक बासिन्दाले राति नदीतर्फ कुनै ठूलो वस्तु खसेजस्तो ठूलो आवाज एकपटक सुनेको बताएका छन्।
 
लक्ष्मी सन् २०२३ मा जापान आएकी थिइन्। उनी अध्ययनसँगै एक रेस्टुरेन्टमा पार्टटाइम काम गर्दै आएकी थिइन्। मृत्यु हुनुअघिल्लो दिन अगस्ट १८ को दिउँसो उनी कामबाट बाहिरिएको पुष्टि भएको छ। त्यसबेला उनको व्यवहारमा असामान्य कुरा नदेखिएको सम्बन्धित व्यक्तिहरूले बताएका छन्।
 
प्रहरीले हत्या अनुसन्धान टोली गठन गरी उनको अन्तिम गतिविधि, सम्पर्क र घटनाको कारणबारे विस्तृत अनुसन्धान गरिरहेको छ।

सम्बन्धित खबर