जापानमा नेपाली स्न्याक्समा क्यान्सरजन्य विषाक्त पदार्थ भेटियो, बजारबाट फिर्ता गर्न आदेश
टोकियो। जापानको चिबा प्रिफेक्चरमा नेपाली उत्पादनको मकैबाट बनेको स्न्याक्समा क्यान्सरको जोखिम बढाउने विषाक्त पदार्थ ‘अफ्लाटक्सिन’ निर्धारित सीमाभन्दा बढी भेटिएपछि बजारबाट फिर्ता गर्न आदेश दिइएको छ।
चिबा प्रिफेक्चरको स्वास्थ्य निर्देशन विभागका अनुसार ‘BHUTEKO MAKAI’ नामक स्न्याक्समा तोकिएको मापदण्डभन्दा बढी अफ्लाटक्सिन भेटिएको हो।
सेप्टेम्बर ३० मा जापानको स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयअन्तर्गत नारिता विमानस्थल क्वारेन्टाइन स्टेसनले आयातित खाद्य पदार्थको जाँचका क्रममा उक्त विषाक्त पदार्थ भेटिएको जानकारी चिबा प्रिफेक्चरलाई गराएको थियो।
त्यसपछि इन्बा पब्लिक हेल्थ सेन्टरले अनुसन्धान सुरु गरेको थियो। अनुसन्धानका क्रममा सेप्टेम्बर १७ देखि ३० सम्म उक्त स्न्याक्सका ३८ प्याकेट बिक्री भइसकेको पाइएको छ।
यस घटनापछि साकुरा सिटीस्थित आयात तथा वितरण कम्पनी NEPAL EXPRESS PARCEL AND LOGISTICS PVT LTD. लाई उक्त उत्पादन बजारबाट फिर्ता लिन आदेश दिइएको हो। कम्पनीले ढुवानी रोक्नुका साथै बिक्री भइसकेका सामान स्वेच्छिक रूपमा फिर्ता गर्ने प्रक्रिया सुरु गरेको जनाएको छ।
अफ्लाटक्सिन दूषित खाद्य पदार्थ सेवन गर्दा ज्वरो, झाडापखाला तथा रोग प्रतिरोधात्मक क्षमता कमजोर हुनेजस्ता स्वास्थ्य समस्या देखिन सक्छन्। दीर्घकालीन रूपमा यसको सेवनले क्यान्सरको जोखिमसमेत बढाउन सक्छ।
यद्यपि, हालसम्म उक्त स्न्याक्स सेवनका कारण कसैलाई स्वास्थ्य समस्या देखिएको रिपोर्ट प्राप्त नभएको चिबा प्रिफेक्चरले जनाएको छ।
जापानमा आयातित खाद्य पदार्थको नियमित अनुगमनका क्रममा यो घटना सार्वजनिक भएको हो।
सम्बन्धित खबर
-
जापानमा नेपालीको सहयोग अभियान: नेपालका विपद् पीडितका लागि च्यारिटी रुमाल बिक्री
साझालेख -
जापानमा रेल दुर्घटनामा ४ कामदारको मृत्यु, ठेकेदार कम्पनीमा प्रहरीको छापा
साझालेख -
जापानको सागामा विदेशी विद्यार्थी लक्षित रोजगार मेला, २०० भन्दा बढी सहभागी
साझालेख -
जापानको फुकुओकामा २५ वर्षीया नेपाली छात्राको हत्या, नदीमा भेटियो शव!
साझालेख -
जापानमा साथीहरूसँग नदीमा पौडी खेल्ने क्रममा नेपाली युवकको मृत्यु
साझालेख