जापानको चिबामा भीषण वर्षाको ताण्डव: ८ जनाको मृत्यु, १७८ घर डुबानमा!
जापानको चिबा प्रिफेक्चर मा परेको अविरल तथा अत्यधिक वर्षाका कारण ठूलो जनधनको क्षति भएको छ। अगस्ट १३ देखि सुरु भएको भीषण वर्षा, डुबान र बाढीपहिरोका कारण हालसम्म कम्तीमा ८ जनाको मृत्यु भएको पुष्टि भएको छ।
प्रहरी तथा स्थानीय प्रशासनका अनुसार काशीवा शहरमा बाढीको पानीमा डुबेको कारबाट उद्धार गरिएकी एक महिलाको उपचारका क्रममा ज्यान गएको छ। यसबाहेक चिबा शहर, इचिकावा, याचियो र साकुरा लगायतका क्षेत्रहरूमा पनि डुबान तथा पहिरोसँग सम्बन्धित घटनामा परेर अन्य व्यक्तिहरूको ज्यान गएको हो।
चिबा प्रिफेक्चर प्रशासनले जारी गरेको पछिल्लो विवरण अनुसार हालसम्म कम्तीमा १७८ वटा घरहरूमा क्षति पुगेको छ। जसमध्ये ८३ घरको भुइँतलाभन्दा माथिसम्म र ८७ घरमा भुइँमुनिसम्म बाढीको पानी पसेको छ। केही घरहरू पूर्ण तथा आंशिक रूपमा क्षतिग्रस्त भएका छन्। वर्षाका कारण चिबाका ७० भन्दा बढी स्थानमा पहिरो र भूस्खलन का घटनाहरू दर्ता भएका छन्।
बाढी र पहिरोका कारण ७ हजार ४०० भन्दा बढी सर्वसाधारण घर फर्कन नसकी अलपत्र परेका थिए, जसलाई स्थानीय आश्रयस्थलहरूमा स्थानान्तरण गरिएको थियो। यसअघि चिबाका २२ वटा शहर तथा नगरहरूमा स्तर ५ को आपत्कालीन चेतावनी जारी गरिएको थियो।
जापान मौसम विज्ञान एजेन्सी ले चेतावनीको स्तर घटाइए तापनि पहाडी भेगको जमिन अझै कमजोर रहेको र नदीहरूको जलसतह उच्च रहेकाले पहिरो तथा डुबानको जोखिम कायमै रहेको चेतावनी दिएको छ। उद्धार तथा क्षतिको विवरण संकलन कार्य जारी रहेकाले हताहतीको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ।
सम्बन्धित खबर
-
जापानमा नेपालीको सहयोग अभियान: नेपालका विपद् पीडितका लागि च्यारिटी रुमाल बिक्री
साझालेख -
जापानमा नेपाली स्न्याक्समा क्यान्सरजन्य विषाक्त पदार्थ भेटियो, बजारबाट फिर्ता गर्न आदेश
साझालेख -
जापानमा रेल दुर्घटनामा ४ कामदारको मृत्यु, ठेकेदार कम्पनीमा प्रहरीको छापा
साझालेख -
जापानको सागामा विदेशी विद्यार्थी लक्षित रोजगार मेला, २०० भन्दा बढी सहभागी
साझालेख -
जापानको फुकुओकामा २५ वर्षीया नेपाली छात्राको हत्या, नदीमा भेटियो शव!
साझालेख