Advertisement
जापान

जापानमा नेपाली व्यवसायीको मनकारी काम: १ दिनको सम्पूर्ण कमाइ भूकम्पपीडितलाई!

साझालेख साझालेख 2026-08-14 3 min Read
जापानमा नेपाली व्यवसायीको मनकारी काम: १ दिनको सम्पूर्ण कमाइ भूकम्पपीडितलाई!

जापान — कुमामोतोमा गएको शक्तिशाली भूकम्पबाट प्रभावितहरूलाई सहयोग गर्न नागानो प्रिफेक्चरको ओमाची सहरमा रहेको इन्डियन–नेपाली रेस्टुरेन्ट ‘साथी’ ले एक दिनको सम्पूर्ण बिक्री रकम दान गर्ने विशेष कार्यक्रम सञ्चालन गरेको छ।

रेस्टुरेन्टका सञ्चालक नेपाली नागरिक नन्द राज रेग्मीले अगस्ट १२ मा नियमित बिदाको दिनसमेत रेस्टुरेन्ट खोलेर विशेष बिक्री गरेका हुन्। उक्त दिनको बिक्रीबाट प्राप्त रकम कुमामोतोका भूकम्पपीडितलाई सहयोग गर्ने उद्देश्य राखिएको थियो।

विशेष कार्यक्रममा ग्राहकलाई करी, नान तथा नेपाली शैलीको चाउमिनलगायत परिकार बुफे शैलीमा १ हजार ५०० येनमा उपलब्ध गराइएको थियो। साथै रेस्टुरेन्टका मौलिक टी–सर्टलगायत सामग्री पनि बिक्री गरिएको थियो।

रेग्मीका अनुसार एक दिनको बिक्रीबाट १ लाख ६९ हजार ९३२ येन संकलन भएको छ। उक्त रकम प्रभावित क्षेत्रमा सहयोगका लागि पठाइएको छ। रेस्टुरेन्टमा थप सहयोगका लागि दान बाकससमेत राखिएको छ। टी–सर्ट र ब्याग बिक्रीबाट प्राप्त रकम पनि भूकम्पपीडितलाई सहयोग गर्ने रेस्टुरेन्टले जनाएको छ।

यस अभियानको मुख्य कारण सन् २०१५ मा नेपालमा गएको विनाशकारी भूकम्पका बेला जापानबाट प्राप्त सहयोगको गुन तिर्नु रहेको रेग्मीले बताएका छन्।

नेपालमा सन् २०१५ मा गएको ७.८ म्याग्निच्युडको भूकम्पमा करिब ९ हजार मानिसको मृत्यु भएको थियो। त्यसबेला जापानसहित विभिन्न देशबाट नेपालमा ठूलो सहयोग पुगेको थियो।

रेग्मीले यसअघि पनि जापानमा भएका प्राकृतिक विपत्तिका बेला सहयोग गर्दै आएका छन्। सन् २०१८ को पश्चिम जापानको बाढी र २०१९ को आँधीका बेला स्वयंसेवा गरेका उनले सन् २०२४ को नोटो प्रायद्वीप भूकम्पपछि पनि रेस्टुरेन्टको बिक्रीबाट सहयोग गरेका थिए।

यसपटक कुमामोतोका प्रभावितलाई सहयोग गर्न गरिएको विशेष कार्यक्रममा सहभागी ग्राहकहरूले पनि सकारात्मक प्रतिक्रिया दिएका छन्।

एक ग्राहकले विपद्बाट प्रभावितलाई केही सहयोग गर्न चाहिरहेका बेला यो राम्रो अवसर बनेको बताए। अर्का ग्राहकले स्वादिष्ट खाना खानुका साथै प्रभावितलाई सहयोग गर्न पाउँदा आफूलाई पनि खुसी लागेको बताए।

रेस्टुरेन्टले अभियानमा साथ दिने सबै ग्राहकप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि सहयोग जारी राख्न आग्रह गरेको छ।

सम्बन्धित खबर